काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुख्य आकर्षण नै पर्यटन क्षेत्र भएकाले यसको विकासमा जोड दिइनुपर्ने बताएका छन ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को एशिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलनलाई आज सम्बोधन गर्र्दै उनले नेपालको हवाइ क्षेत्रमा सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्दै नेपाल सुन्दरताको खानी भएको बताए । यहाँ धेरै कुराको अनुसन्धान गर्न सकिनेतर्फ पनि उनले सबैको ध्यानाकर्षण गराएका छन ।
नेपाली पर्यटनसंग जोडिएका मौलिक शब्दहरुको जगेर्ना गर्नुपर्ने आवश्यकता पनि अँौल्याए । उनले सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिन सबैलाई आग्रह गरे ।
नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको जानकारी गराए ।
उद्घाटन सत्रमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको हवाई सुरक्षाबारे विभिन्न तहमा छलफल भएको जानकारी दिए।
हवाई उड्डयनको क्षेत्रमा नेपालले नीतिगत सुधार गरिरहेको बताउँदै उनले एशिया क्षेत्रमा नेपालको प्रगति उत्कृष्ट रहेको बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको वायु सेवा सुरक्षाको अवस्था सुधार भएको दाबी गरे।
सम्मेलनलाई सम्बोधन गर्दै आइकाओका एशिया प्यासिफिक निर्देशक अरुण मिश्रले उड्डन क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको दाबी गरे।
आज सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
विश्वका ठूला जहाज निर्माता कम्पनीहरु बोइङ र एयरबसका प्रतिनिधि समेत सम्मेलनमा सहभागी छन्।
अमेरिकी जहाज निर्माता बोइङ तथा युरोपेली जहाज निर्माता एयरबसका प्रतिनिधिहरु उड्डयन सुरक्षा तथा प्रविधि विषयमा प्रस्तुति दिन सम्मेलनमा सहभागी भएका हुन्।