काठमाडौं: दूधको नयाँ मूल्य निर्धारण गर्न गठित कार्यदलले ९ देखि १२ प्रतिशत मूल्य बढाउन सिफारिस गरेको छ ।
कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको थियो ।
गत बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले आज कृषि तथा पशुपन्छी बिकास मन्त्रालयलाई प्रतिवेदन भुझाएको हो ।
कार्यदलले विभिन्न बिषयलाई समेटेर ९ देखि १२ प्रतिशत मूल्य बढाउन सिफारिस गरेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका प्रवक्ता तेज बहादुर सुबेदीले बताए ।
कार्यदलले दुध उत्पादन हुने समयको आधारमा दुई ओटा मूल्य राख्नुपर्ने सुझाब समेत पेश गरेको सुबेदीले बताए ।
दुध बढी उत्पादन हुने समय भद्रनदेखि फाल्गुन सम्म एउटा मूल्य र कम उत्पादन हुने समय चैत्रदेखि साउनसम्म एउटा मूल्य तोक्नुपर्ने सुझाब दिएको छ ।
मन्त्रालयले अन्तरिक छलफल गरि कार्यदलको प्रतिबेदन र उपभोक्तालाई समेत ध्यान दिएर छिटै नयाँ मूल्य तोक्ने उनले बताए ।
गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गरको निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए ।