काठमाडौँ: नयाँ बानेश्वरस्थित संसद भवनमा सुविधासम्पन्न चमेना गृह खुलेको छ।
करिब ६ महिना निर्माण अवधि तोकिएको चमेना गृह ५ दिनअघि नै सम्पन्न भई बुधवार हस्तान्तरण भएको हो। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बुधबार बिहान उक्त चमेना गृहको उद्घाटन गरे।
सो अवसरमा मन्त्री राईले मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएको भन्दै इमान्दारीपुर्वक जिम्मेवारी निर्वाह गरे समयमै सम्पन्न हुने सन्देश चमेना गृहको निर्माणले दिएको बताए।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय र सहकार्यले समयमै काम सम्पन्न भएको बताए।
शहरी विकास मन्त्रालयअन्र्तगतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते घिसिङ/कुँवर जे.भी. निर्माणलाई २ करोड ७८ लाख रुपैयाँ लागतमा चमेना गृहको निर्माणका लागि ठेक्का दिएको थियो।
करिब १० हजार ५ सय ५७ बर्ग फिट क्षेत्रफलमा निर्माण भएको चमेना गृहमा १ सय ८६ जना सम्मको भोजन कक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद दवाडीले बताए।