काठमाडौं : हिमाल दोलखा हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) को आज भदौ ५ गते बाँडफाँट हुँदैछ ।
कम्पनीले जारी गरेको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा आज बिहीबार अपराह्न ४ बजे बाँडफाँडको तयारी भएको हो ।
यस कम्पनीमा लगानी गरेका सबै लगानीकर्ताले मागेजति शेयर पाउने पक्का छ। कम्पनीले निष्काशनमा ल्याएको आईपीओ आधा नबिकेपछि लगानीकर्ताले माग अनुसार नै शेयर पाउने पक्का भएको हो ।
कम्पनीको शेयरमा सर्वसाधारणबाट निष्काशित शेयरको आधा भन्दा कम ३३ लाख १८ हजार ६३० कित्ता शेयरको लागि ७४ हजार ४४० वटा अवेदन परेको छ।
हिमाल दोलखाले असार २५ देखि साउन २४ गतेसम्म ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो।
सामूहिक लगानी कोषलाई २५ हजार कित्ता बाँडफाँड तथा कम्पनीका कर्मचारीलाई १ लाख ५३ हजार ४४४ कित्ता शेयर आरक्षण गरेको थियो।
हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ।
हिमाल दोलखा हाइड्रोपावरले इलामको इलाम नगरपालिकामा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना सञ्चालन गरिरहेको छ ।
माई खोला स्मल हाइड्रोपावरको क्षमता ४।५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।
