काठमाडौं : नयाँ आर्थिक वर्ष सुरु भएयता खाद्यान्नको बजार भाउ बढेको छ ।
राजधानीका पसलैपिच्छे खाद्यान्नको मूल्य फरक पाइएको छ । गत बैशाख जेठ महिनाको तुलनामा यस महिनामा खाद्यान्नको खुद्रा मूल्यमा १८% देखि ४०% सम्म भाउ बढेको पाइएको छ ।
बजेट भाषण हुनु भन्दा अगाडि चना प्रतिकिलोको ९० रुपैयाँ थियो । तर नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनामै यसको खुद्रा मूल्यमा ४०% सम्म वृद्धि भएको छ । पुतलीसडकस्थित एक खाद्यान्न पसलमा चना प्रतिकिलोको अहिले १५० रुपैयाँ रहेको छ ।
त्यसैगरी अन्य खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको पाइएको छ ।
कुन कुन खाद्यान्नको मूल्यमा फरक प¥यो त ? हेरौ तलको तालिकामा केही खाद्यान्नको बढेको मूल्यसूची :

सरकारले तोकेको मूल्य भन्दा बढी भाउ राखेर यस्ता खाद्यान्न विक्रि गर्दै आएका व्यवसायीहरु भने थोरै मात्रामा मात्रै मूल्य बढेको बताउँछन । तर भदौपछि भने दशैंतिहारको समयमा खाद्यान्नको अभावले पनि मूल्य बढेर बजारमा आउने बागबजारस्थित खाद्यान्न पसल राख्दै आएकी ३५ वर्षीया कल्याणी तन्डुकारले बताइन ।
नयाँ आर्थिक वर्षमा कर्मचारीको तलब बढेपछि स्वतः बजार भाउ पनि बढेको बागबजारकै खाद्यान्न व्यापारी मिना यादव बताउँछिन ।
यसरी अघोषित रुपमा भएको मूल्यवृद्धिले उपभोक्ता भने ठुलो मारमा परेका छन ।
सामानको मूल्यसूची नराखी आफूखुसी मूल्य तोकेर सामान बेचिरहेकोबारे सोध्दा नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले सानातिना पसलेले त्यसो गरे होलान तर यसबारे अनुसन्धानका लागि केही कर्मचारी निरन्तर अनुसन्धान गर्न खटिएको बताए ।
उनका अनुसार बजारमा तरकारीको भाउ बढेसंगै खाद्यान्नको खुद्रा मुल्य पनि व्यवसायी अफैले बढाएको पाइएको छ ।
चाडवाडको समयमा भने व्यवसायीले आफूखुसी नै बजार भाउ राखेको पाइएकोले संघले पनि खुद्रा मूल्य व्यवस्थापन गर्न बैठक बस्ने तयारी गरेको उनले जानकारी दिए ।
साथै बजार व्यवस्थापनका लागि सरकारलाई पनि बारम्बार घच्घच्याइ राखेको बताउँदै उनले चाडबाड लक्षित खुद्रा बजारबारे अर्थ मन्त्रीसंग छलफल गर्न ताकेता गरीरहेको बताए । तर अर्थ मन्त्रालयबाट नै यसबारे चासो नदेखाइएको भन्दै उनले असन्तुष्टि पोखे ।