काठमाडौं : सफा र स्थिर पानीमा अण्डा पार्ने, दिउँसो टोक्ने र रगत चुसेर आफूमा प्रोटिन बढाउने। त्यसपछि एकै चोटि झन्डै २ सय अण्डा पार्ने। यो पोथी लामखुट्टेको जीवनचक्र हो। यसले मानव समुदायमा डेंगुको संक्रमण बढाएको छ।
यो संकटमोचन गर्न स्वास्थ्य मन्त्रालयले विज्ञ संलग्न उच्चस्तरीय बैठक बोलाएको छ। डेंगु घट्नुको सट्टा तराईबाट पहाडतर्फ विस्तार हुन थालेपछि वैकल्पिक उपायको खोजीमा मन्त्रालय जुटेको हो। समयमै संक्रमितले उपचार पाए सहजै निको हुने डेंगु विकराल बन्दै गएपछि चिन्ता बढेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा बिहीबार बैठक बस्ने तयारी छ।
‘स्वास्थ्य मन्त्रालयले मात्र डेंगु नियन्त्रण गर्न नसक्ने पुष्टि भइसक्यो’, मन्त्रालयका उच्च तहका एक कर्मचारीले भने, ‘अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य चाहिने भएपछि उच्चस्तरीय बैठक बोलाउनुपरेको हो।’
डेंगुबाट यो वर्ष तीन जनाको ज्यान गएको छ। ४२ जिल्लामा बिरामी फेला परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले डेंगु नियन्त्रण गर्ने विषयमा बिहीबार उच्चस्तरीय बैठक गर्न लागेको पुष्टि गरिन्। ‘यसबारे धेरै थाहा छैन’, उनले भनिन्, ‘रोग नियन्त्रण महाशाखाबाटै बुझ्नुहोला।’
महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार पोथी जातको लामखुट्टेको बसाइ पहाडतिर सरेको छ। लामखुट्टेलाई अण्डा पार्न प्रोटिन आवश्यक पर्छ। त्यसका लागि मान्छेको रगत चुस्छ। भाले जातको लामखुट्टेले बोटबिरुवाको रगत चुसेर जीवनयापन गर्दछ।
