काठमाडौं- बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो।
सुडान घोटाला काण्डका अनुसन्धान अधिकृत डिल्लीरमण आचार्यले पेश गरेको प्रतिवेदनको आधारमा भारतीविरूद्ध अदालतले सजाय तोकेको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।
ललितपुरस्थि भैंसेपाटीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतीलाई पक्राउ गरेको हो। भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने छ।
भारती मुख्य आपूर्तिकर्ता एर्स्योड रिस्क कम्पनी लन्डनको तर्फबाट स्थानीय प्रतिनिधि भइ सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको एफपीयूको लागि आवश्यक बन्दोबस्तीको सामान खरिद गर्न नेपाल प्रहरीसँग ७ सेप्टेम्बर २००७ मा सम्झौता गरेको थिए। सो सम्झौता गर्नु अगाडि भारतीले मुख्य कम्पनीको तर्फबाट सामानको मूल्यखुलाई कोटेशन पेस गर्नुपर्नेमा तत्कालीन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ओमविक्रम राणाको निर्देशनमा स्पेसिफिकेशन र क्याटलगबिना नै सामानको दररेट बनाउन लगाएको अनुसन्धानबाट खुलेको थियो।
गृह मन्त्रालयबाट पठाइएका ३४ वटा सम्भाव्य कम्पनीलाई प्रतिस्पर्धामा आउन नै नदिइ जम्मा ३ वटा सूचीकृत फर्मको छनौट गरी पक्राउ परेका भारतीका नाता पर्ने मानिस संलग्न रहेका अन्य दुईवटा फर्मसँग मिलेमतो गरी दरभाउपत्र पेस गर्न पत्राचार गरेको गरेका थिए। यो समाचार नागरिक दैनिकमा रहेको छ ।