काठमाडौँ : नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले रासससँग कुरा गर्दै भन्नुभयो, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उहाँले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले एटीएम ह्याक प्रकरणका विषयमा अध्ययन गर्न छानविन समिति बनाएको छ ।
एटीएम ह्याक गरेर चिनियाँ नागरिकहरुले १ करोड ६८ रुपैयाँ निकालेको प्रारम्भिक निश्कर्ष निकाल्दै यस विषयमा थप अध्ययन गर्नका लागि राष्ट्र बैंकले छानविन समिति बनाएको हो ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए । बैंकका भुक्तानी प्रणाली विभागको प्रमुख रहेका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिका सदस्यमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि हेर्ने प्रतिनिधि र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको सदस्य तोकिएको छ ।
समितिले ३ दिनमा प्रतिवेदन बुझाउने उनले बताए । उनले भने, ‘ढिलोमा बुधबारसम्म समितिले प्रतिवेदन बुझाउने छ, त्यसपछि आवश्यक निर्णय हुनेछ ।’
