पोखरा : तिब्बती शरणार्थीलाई वशंजको नागरिकता दिएको आरोपमा कास्की जिल्ला अदालतमा मंगलबार १४ जनाविरुद्ध मुद्दा परेको छ ।
नातिनीलाई छोरी भनेर नागरिकता दिलाएका पोखरा १८ निवासी लेखबहादुर थापा र वडाध्यक्ष रणबहादुर थापासहित १४ जनाविरुद्ध मुद्दा परेको हो । नागरिकताका लागि सनाखत गरेका र सर्जिमिन मुचुल्कामा दस्तखत गरेकाहरूमाथि पनि मुद्दा परेको हो।
नागरिकता लिएका टासीआङ्मो र सरु थापामगरलाई समेत मुद्दा छ । वडा सदस्य ज्ञानबहादुर थापा र जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायब सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल, रामचन्द्र थापाविरुद्धसमेत मुद्दा दर्ता भएको छ ।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको मुद्दामा बाबु बनेका हजुरबुबा लेखबहादुर र नागरिकता लिएकाहरूलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ । मुचुल्कामा सही गर्ने र सिफारिस गर्ने वडाध्यक्षलाई भने ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय माग छ ।
उक्त सजायको व्यवस्था नागरिकता ऐन २०६३ मा छ । तर, यो अधिकतम् हो । झूटो विवरण पेस गरी नागरिकता दिलाएको र लिएको अभियोगको मुद्दा उनीहरूविरुद्ध दायर भएको हो ।