काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्किएपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार गएका थिए ।
सो अवसरमा उनिहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गरेका थिए । यही भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानु भएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।