काठमाडौँ: आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार ५ सयमा आइपुगेको छ ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ८८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
यसअघि निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइरहेको बेला भाउ घटेपछि थोरै भए पनि राहत पुग्ने देखिएको छ ।
निरन्तर भाउ बढेपछि सर्वसाधारणले आफूसँग भएको गहना बेच्न चाहे पनि सुनचाँदी व्यापारीले खरिद नगरेको गुनासो गरिरहेका छन् । भाउ महँगो भएपछि यतिबेला सुनचाँदीका पसल पनि सुनसान छन् ।
व्यापारीहरुले ग्राहकका पुराना गहना किन्न मानिरहेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस न्यूनतम १५ सय ०२.९१ डलरदेखि अधिकतम १५ सय २७.९६ डलर सम्म कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएसँगै यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो ।