काठमाडाँै : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन ।
होटल मेरियटमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।
भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।
भेटपछि उनले सञ्चारकर्मीसँग भन्नुभयो, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो ।”
नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।
उनीहरुबीचको भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो ।
भेटमा नेपाल र चीनबीच आर्थिक क्षेत्रमा भइरहेका सहयोगलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा पनि छलफल भएको अध्यक्ष दाहालले बताए ।
चिनियाँ सहयोगमार्फत नेपालको आर्थिक विकासको प्रयासमा ठूलो मद्तद्य पुग्ने विश्वास लिएको अध्यक्ष दाहालले बताए ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गरे ।
भेटवार्तामा उनीहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी परराष्ट्रविद् डा. दिनेश भट्टराईले जानकारी दिए ।
सो अवसरमा सभापति देउवाले यसप्रकारको भेटघाटले दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुने बताउँदै चीनले नेपालको पूर्वाधारलगायत क्षेत्रमा गरेको सहयोगको प्रशंसाकासाथ निरन्तरताको अपेक्षा गरेका थिए ।
साथै उहाँले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।
सभापति देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राखेका थिए ।
विदेशमन्त्री वाङले उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी दिएको भट्टराईले बताए ।
सो भेटमा काङ्गे्रसका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी थिए भने विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए ।
विदेशमन्त्री वाङ नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा अस्ति आइतबार यहाँ आइपुगेका हुन ।
