धनगढी: धनगढी उपमहानगरपालिका मनहेरा गाउँकी समिता चौधरी आफ्ना लागि लगाउन मिल्ने लुगा सित्तैमा पाउँदा खुशीसँगै दोधारे मुद्रामा भेटिनुभयो ।
स्थानीय हसनपुर चोकमा सञ्चालनमा ल्याइएको निःशुल्क लुगा वितरण केन्द्रमा राखिएका लुगा छान्दै गर्दा भेटिनुभएकी उहाँले भन्नुभयो,‘‘पैंसा नतिरेर लुगा पाउँदा गरीबका लागि राम्रै काम गरिएको रहेछ ।”
एक पटक प्रयोग भई पुनः प्रयोग गर्न मिल्ने लुगा उलब्ध हुँदा भने उहाँ दोधारमा देखिनु भएको हो । उहाँसँगै बजार घुम्न आउनुभएकी अर्की महिला पनि आफूलाई लगाउन मिल्ने लुगा हतार हतारमा छानेर झोलामा राख्दै गरेको भेटिनुभयो । पुनः प्रयोग गर्न मिल्ने लुगा सित्तैमा उपलब्ध हुन थालेपछि कमजोर आर्थिक अवस्था भएका समुदायका व्यक्तिका लागि राहत मिल्न थालेको छ ।
धनगढी मनहेरा गाउँका सन्तराम चौधरीले भन्नुभयो, “ नयाँ लुगा किनेर लगाउन नसक्ने कमजोर आर्थिक अवस्था भएकालाई यस्तो लुगा उपलब्ध हुँदा ठूलै राहत भएको देखिएको छ ।”
सामाजिक संस्था रोयल कोलाब्रेटिज प्रालि धनगढीमा आवद्ध देवेन्द्र जोशी, गजेन्द्र शाही, सूर्यप्रकास भट्ट, विनय चोखालसहितका युवाको पहलमा पुनः प्रयोग गर्न मिल्ने लुुगा कपडा सङ्कलन गरी विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क वितरण गर्न थालिएको हो ।
‘‘मान्छेका घरमा रहेका प्रयोग भएका र नभएका लत्ताकपडा सङ्कलन गरेर गरीब असहायलाई वितरण गर्न यो योजना बनाएका हौंँ”, प्रालिमा आवद्ध युवा जोशीले भन्नुभयो,“सेवा गर्नु नै धर्म भएकाले यस्तो अभियान थालेका हौं ।”
संस्थाको काममा धनगढी उपमहानगरपालिकाले सहयोग पु¥याइरहेको छ । संस्थाले विभिन्न सामाजिक कार्यका अलावा खेलकूद गतिविधि र व्यक्तित्व विकास सम्बन्धी गतिविधि गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशका अन्य ठाउँमा पनि यस्तो अभियान शुरु गरिने जनाइएको छ ।
कपडा बैंक सञ्चालनः
रोयल कोलाब्रेटिज प्रालि धनगढीमा आवद्ध युवाले निःशुल्क कपडा वितरण अभियान थालेसँगै धनगढीका व्यापारीको एक समूहले रु १५ लाखको लगानी गरेर छुट्टै कपडा बैंक नै सञ्चालन गरेका छन् ।
धनगढीको शिवपुरीधाम परिसरमा सञ्चलनमा आएको कपडा बैंकबाट पुनः प्रयोग गर्न मिल्ने लत्ताकपडा सङ्कलन र वितरण थालिएको छ । बैंकले धनगढीका विभिन्न टोल र चोकमा गाडी राखेर पुनः प्रयोग गर्न मिल्ने लत्ताकपडा सङ्कलन गरी बैंकमा जम्मा गर्ने गरेको छ ।
धार्मिकसँगै सामाजिक कार्यसमेत गर्ने उद्देश्यका साथ यो बैंक सञ्चालन गरिएको सञ्चालकमध्येका श्याम हमालले बताउनुभयोे । श्याम हमालसहित स्थानीय व्यापारी गोपाल हमाल र देवेन्द्र हमालको संयुक्त लगानीमा सञ्चालनमा आएको कपडा बैँकबाट विपन्न समुदायका व्यक्तिले लाभ लिइरहेका छन् ।