काठमाडौँ: धादिङ आधारक्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइके साजन गुरुङलाई पक्रन प्रहरीले गोली चलाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार तारकेश्वर नगरपालिका गोलढुंगास्थित फूलबारी रेस्टुरेन्टमा गोली हानी साजनलाई पक्राउ गरिएको हो।
साजनलाई दुबै खुट्टामा दुई गोली लागेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। साजनलाई उपचारको लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको छ।
साजनको साथबाट एक नाल कटुवा पेस्तोल बरामद भएको थापाले बताए। धादिङ आधारक्षेत्र बनाएर आपराधिक गतिविधि गर्दै आएका साजनलाई पक्रन साँझ पाँच बजे प्रहरी रेस्टुरेन्ट पुगेको थियो।
‘प्रहरीलाई देखेपछि पेस्तोल देखाएका हुनाले पक्राउ गर्न गोली हान्नुपरेको हो,’ थापाले सेतोपाटीसँग भने। थापाका अनुसार साजन धादिङ तथा काठमाडौं रहेर व्यसायीबाट अवैध असुली तथा धाकधम्की दिने कार्यमा संलग्न थिए।