भक्तपुर : केही विशेषज्ञ चिकित्सकले छाड्ने भएका छन्। अस्पतालमा भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि उत्पन्न गतिरोधले निकास नपाएपछि उनीहरुले अस्पताल छाड्ने भएका हुन्।
गएको साउन ३० गते भक्तपुर नगरपालिकाले अस्पतालमा हस्तक्षेप गरी अस्पतालको मौजुदा व्यवस्थापन समितिको समानान्तर हुने गरी नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा अर्को व्यवस्थापन समिति गठन गरेको थियो।
अस्पतालमा भ्रष्टाचार भएको हवाला दिँदै भक्तपुर नगरपालिकाले मेयरको अध्यक्षतामा व्यवस्थापन समितिमात्रै खडा गरेन। नगरवासीको नाउँमा एक समूह खडा गरी मौजुदा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अस्पतालमा प्रवेशसमेत गर्न बाधा पुर्याउँदै आएको छ।
भक्तपुर नपाको हस्तक्षेपविरुद्ध अस्पताल व्यवस्थापन समिति, अस्पताल सञ्चालक नेपाल अर्बुदरोग निवारण संस्थाले सर्वोच्चमा रिट हालेको थियो। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले भक्तपुर नगरपालिकाले गठन गरेको व्यवस्थापन समिति अवैधानिक भएकाले मौजुदा व्यवस्थापन समितिलाई विनाबाधा कामकारबाही गर्न दिन आदेश दिइसकेको छ। तैपनि उक्त समूहले व्यवस्थापन समितिलाई अस्पताल छिर्न बाधा पुर्याइरहेको व्यवस्थापन समितिका एक पदाधिकारीले बताएका छन्।
सर्वोच्चले आदेश दिँदादिँदै पनि अस्पतालको मौजुदा व्यवस्थापन समितिले काम गर्न सकेको छैन। त्यस्तै भक्तपुर नगरपालिकाले पनि पूर्ण रुपमा अस्पाललाई आफ्नो मातहतमा लान सकेको छैन।
अस्पताल अन्योलको स्थितिमा रहेको छ। त्यसमाथि मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पताल कर्मचारी कल्याणकारी समितिको नाउँमा आफूइतर विशेषज्ञ चिकित्सकलाई पेल्न थालेको चिकित्सक बताउँछन्। आफूभन्दा कनिष्ठ मेडिकल डाइरेक्टर र कर्मचारीले आफूहरुमाथि अभद्र व्यवहार गर्न थालेपछि आफूहरु अस्पताल छाड्ने निष्कर्षमा पुगेको एक चिकित्सकले जानकारी दिए।
उनका अनुसार उनीसहित करिब पाँचजना क्यान्सरका विशेषज्ञ चिकित्सकहरु भाद्र महिनापछि क्यान्सर अस्पताल आउनेछैनन्। यसरी बाहिरिनेहरुमा अस्पतालको क्यान्सर उपचारको प्रमुख विभागका विशेषज्ञ चिकित्सकहरु नै रहेको उनले सुनाए। यो खबर अन्नपुर्णमा रहेको छ ।