काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई एक लाख धरौटीमा छोड्ने आदेश दिएको हो।
जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका सात जनामध्ये नरेशलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।
अदालतका अनुसार धरौटी बुझाएर नरेश बुधबार नै थुनामुक्त भएका छन्। सो प्रकरणमा पक्राउ परेका अन्य छ जनालाई भने अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट थुनछेक बहस सुरू भएको थियो। बुधबार बहस सकिएपछि थापालाई धरौटीमा छाड्ने आदेश भएको अदालतले जनाएको छ।