काठमाडौँ: प्रथम तिलोत्तमा लगानी सम्मेलन रुपन्देहीको कोटिहवामा सुरू भएको छ। सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।
बिहीबार मात्रै चल्ने लगानी सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, राजनितिक दलका नेताहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री, विभागीय मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, डिएफआइडीका प्रतिनिधि, चिनियाँ प्रतिनिधिलगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको सहभागिता रहेको छ।
स्वदेशी तथा विदेशी लगानीलाई तिलोत्तमामा आकर्षित गर्ने उद्देश्यले गर्न लगानी सम्मेलनको आयोजना गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए। तिलोत्तमा नगर कृषि, उद्योग, व्यापार, पर्यटन लगायतको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो।
नगरपालिकाले कृषि, पर्यटन, उद्योग, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न २२ परियोजनाका विषयमा प्रस्ताव तयार गरेको नगरप्रमुख घिमिरेले जानकारी दिए।
लगानी सम्मेलनमार्फत् ती परियोजनामा निजी क्षेत्रबाट ५० अर्बभन्दा बढी पुँजी भित्रिने आयोजकको अपेक्षा छ।
नगरपालिकाले पहिचान गरेका झण्डै एक सय परियोजनामध्येबाट प्राथमिकताका आधारमा २२ परियोजना प्रस्ताव गरिएको हो।
लगानीका लागि विशेषगरी कृषि, पर्यटन, उद्योग, व्यापार पूर्वाधार, स्वास्थ्य र शिक्षासम्बन्धी परियोजना प्रस्ताव गरिएका छन्।