भक्तपुर: कृषि विकास बैंकको गठ्ठाघरस्थित शाखाले व्यवस्थित रुपमा सर्वसाधारणलाई नयाँ नोट वितरण गरिरहेको छ ।
कृषि विकास बैंकको उक्त शाखाले दैनिक ३०० सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको शाखा प्रमुख खेटराज दाहालले बताए ।
उनले भने- “हामीले कुपन प्रणालीमा नयाँ नोट वितरण गरेका छौ जसले गर्दा सर्वसाधारण तथा बैंकका कर्मचारीलाई सहज भएको छ” ।
सर्वसाधारणलाई बिहान १० बजेदेखि कुपन वितरण गरिहेको बताउदै उनले ३०० कुपन वितरण गरिसकेपछि कुपन बितरण बन्द गर्ने गरेको बताए । नोट वितरण भने बिहान १०: १५ बजेदेखि शुरु हुने उनले बताए ।

सर्वसाधारणले ५, १०, २० र ५० दरका एक/ एक बन्डल (बिटा) गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म नोट सटही सुविधा पाएका छन् ।
नयाँ नोट लिनका लागि जेष्ठ नागरिक तथा अशक्तलाई पहिलो प्राथमिकता दिएको दाहालले बताए ।
बैंकका कर्मचारीले नोट वितरण गर्नु पहिलानै ५, १०, २० र ५० दरका एक/ एक बन्डल (बिटा) गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म बन्डल तयार गर्ने गरेको बताउदै उनले भने यसरी पहिलानै तयारी गर्दा वितरण छिटो र सहज हुन्छ ।
कृषि विकास बैंकले गौशाला,गठाघर, केन्द्रिय कार्यालय रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकस्थित बैंकका शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सटहि सुबिधा प्रदान गरेको छ ।
त्यसैगरी, नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट सटही सेवा प्रदान गरेको छ ।
बैंकहरुले असोज १० गतेदेखि नयाँ नोट वितरण शुरु गरेका हुन् भने असोज १७ गतेसम्म सर्वसाधारणलाई नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएका छन् ।
