काठमाडौँ: दशैंका लागि सरकारले सोमबारदेखि खसीबोका तथा च्याङग्रा को बिक्री थालेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सोमबारदेखि थापाथलीबाटखसीबोका तथा च्याङग्राको बिक्री गर्न थालेको हो ।
कम्पनीले निजी क्षेत्रको भन्दा खसी किलोको ७० रुपैयाँ र च्याङग्रा ३० रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ।
कम्पनीको सोमबार बसेको बैठकले जिउँदो खसीको मूल्य किलोको ५ सय ५० रुपैयाँ र च्याङग्रा किलोको ७ सय ३० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो। व्यवसायीले जिउँदो खसीको मूल्य किलोको ६ सय २० रुपैयाँ र च्याङग्रा ७ सय ६० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
कम्पनीले जिउँदो खसीको मूल्य किलोको ५ सय ६० रुपैयाँ र च्याङग्रा ७ सय ४० रुपैयाँ तोकेको थियो।
मूल्यमा सरकारले १० रुपैयाँ अनुदान दिएका कारण थप सहुलियत भएको हो। कम्पनीले दशैंमा तीन हजार खसी/च्याङग्रा ल्याएर बिक्री गर्दै आएको छ। मूल्य हस्तक्षेप गर्नका लागि कम्पनीले खसी/च्याङग्रा ल्याएर बिक्री गरेको हो। कम्पनीले खसी/च्याङग्रा बिक्री गरेकै कारण निजी व्यवसायीले अस्वभाविक मूल्य निर्धारण गर्न पाउँदैनन्।
कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बजार भाउ भन्दा सस्तोमा खसी र च्याङग्राको मूल्य निर्धारण गरिएको बताए। उनले सरकारले व्यापार नगर्ने बताउँदै सांकेतिक रुपमा बजार हस्तक्षेप गरेको बताए।
‘हामीले घाटा खाएर भएपनि सांकेतिक रुपमा बजार हस्तक्षेप गरेका हौं’ उनले भने,’हामीले सस्तो मात्रै होइन स्वस्थ खसी ल्याएका छौं।’ गौचनले संस्थानबाट किनेर वाहिर महँगोमा बिक्री गर्ने प्रवृति रोक्न रेकर्ड राख्ने गरेको बताए।
कम्पनीले हेटौंडा र दाङबाट खसी किनेर ल्याएको हो। गौचनका अनुसार हेटौंडाका किसानसँग किलोको ५ सय ७० रुपैयाँ र दाङका किसानबाट किलोको ५ सय ३५ रुपैयाँमा किनेर ल्याइएको हो।
कम्पनीका अनुसार सोमबारसम्म सोमबार सम्म ३७० खसी/बोका र ५५० च्याङ्ग्रा काठमाडौं आइसकेको छ। संस्थानका अनुसार बाँकी खसी र च्याङग्रा समेत बाटोमा रहेको र केही दिनभित्रै काठमाडौंमा आइपुग्नेछ।