काठमाडौँ: जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ९ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ ।
राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्योडो न्युज एजेन्सीका अनुसार आँधीपछिको वर्षा र पहिरोले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ ।
वर्षापछि आएको पहिरोले घर नै बगाएको छ, जसमा २ जनाको ज्यान गएको छ । बाढीले घर बगाउँदा टोमिकोमा १ पुरुष र टोकियो नजिकैको सागामिहारामा एक महिलाको ज्यान गएको हो । कावासकीको अपार्टमेन्ट, टोचिगी र चिवामा १/१ जनाको ज्यान गएको बीबीसी समाचारमा लेखिएको छ ।
क्योडो न्युज एजेन्सीका अनुसार, आँधीका कारण ९० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ११ बेपत्ता भएको सरकारी अधिकारीहरूको बताएका छन् ।
इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । बीबीसीका अनुसार आँधीको गति अहिले २२५ किलोमिटर प्रतिघण्टा छ ।