काठमाडौँ: नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफल हुने छ।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले छलफलपछि यसैमा सहमति जुटाउन प्रयास गरिने बताए। बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणको ढाँचा बैठकले तय गर्ने नेपाली अधिकारीहरुले बताएका छन्। समितिको अघिल्ल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो।
बैठकमा नेपालका तर्फबाट ऊर्जा घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्ने तय भएको छ। सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गर्ने कार्यक्रम छ।
मन्त्रिपरिषद्को गत असोज १७ गते बसेको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिवलगायतका अधिकारीलाई स्वीकृति दिएको थियो।