काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा राजस्व असुली लक्ष्यको तुलनामा ५४ अर्ब रुपैयाँ कम छ।
सरकारले पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा दुई खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा एक खर्ब ९८ अर्ब रुपैयाँमात्र संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
आयातमा ह्रास र आर्थिक क्रियाकलाप सुस्त हुँदा राजस्वको लक्ष्य प्राप्त हुन नसकेको बताइएको छ। चालु वर्षमा आयातको वृद्धिदर सामान्य ऋणात्मक छ। कुल राजस्वको ४४ प्रतिशत भन्सारमा आधारित राजस्वबाट पूर्ति हुँदै आएको छ।
आयातमा आधारित राजस्व प्रणालीका कारण विगतजस्तो आयातमा वृद्धि हुन नसक्दा राजस्वमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो। सरकारले गैरकरतर्फ राजस्व असुलीमा भने लक्ष्य झन्डै भेटाएको छ। कर राजस्वतर्फ लक्ष्यको तुलनामा असुलीमा ठूलो खाडल देखिनुमा सरकारको विकास खर्च न्युन हुनु पनि प्रमुख कारण हो।
विकास बजेट खर्च हुन नसक्दा निर्माण सामग्रीको व्यापारमा ह्रास आएको छ भने सरकारले एकैपटक धेरै नियमन जारी गरेपछि निजी क्षेत्र त्रसित देखिएको अर्थशास्त्रीहरू बताउँछन्। ‘विगत वर्षको तुलनामा बजार सुस्त देखिन्छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्। मुद्रास्फिति बढ्दा यसले घरायसी खर्चसमेत कटौती गरेको छ।
‘अर्थतन्त्रका प्रमुख चालक (एक्टर)मध्ये घरायसी क्षेत्र महँगीको मारमा छ। निजी क्षेत्र सुस्त छ र सरकारको विकास खर्च पनि बढ्न सकेको छैन,’ उनले भने, ‘यसको असर राजस्व असुलीमा प्रतिबिम्बित भएको हो।’
सरकारले गैर कर राजस्व तर्फ भने २० अर्ब ६६ करोड रुपैयाँको लक्ष्य राखेकोमा २० अर्ब ४६ करोड रुपैयाँ संकलन भएको छ। कर राजस्वतर्फ ठूलो खाडल देखिँदा यसले हाम्रो कराधार कमजोर देखिएको अर्थशास्त्रीले बताएका छन्।
कर राजस्वतर्फ आयकरको पहिलो किस्ता (४० प्रतिशत) पुस मसान्तमा तिर्नुपर्ने भएकाले आयकरतर्फ असुली कम देखिएको छ। पहिलो त्रैमासमा आयकरबाट ३९ अर्बको लक्ष्यमा ३० अर्ब मात्र राजस्व संकलन भएको छ। अन्तःशुल्कतर्फ ४२ अर्ब २७ करोडको लक्ष्यमा करिब ३२ अर्ब ९० करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ।
सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमा मदिरा उद्योग लक्षित कसिकसाउ कानुन ल्याएपछि धेरै मदिरा उद्योगले उत्पादन रोकेका छन्।