काठमाडौँ: नेपाल वायुसेवा निगमको ‘मकालु’ नाम दिइएको दोस्रो वाइडबडी जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका छन् ।
विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । आज बिहान ९ बजेर २१ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको नयाँ विमानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा लगायत निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका छन् ।
मकालु नाम दिइएको ए ३०३-२०० सिरिजको विमानको कल साइन ९ एनएलजेट छ ।
यसअघि गत असार २४ गते निगमले पहिलो वाइडबडी एयरबस ३३०-२०० विमान भित्र्याएको थियो ।
निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
निगमले दुर्इवटा वाइडबडी जहाज खरीदका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ।
निगमले फ्रान्सको एएआर कम्पनीसँग गत वैशाखमा जहाज दुईवटा वाइडबडी जहाज खरिदका लागि सम्झौंता गरेको थियो।