काठमाडौं :नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनीलाई दिने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
सभामा बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।
बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभा गर्नका लागि बैंकले मंसिर २६ गते बुक क्लोज गर्दैछ । मंसिर २५ गतेसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् ।
साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ९ बजे सुरु हुनेछ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि बनाइएको छ ।
बैंकको आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ ।
बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश गरिदैछ ।
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।