काठमाडौँ: चालू आर्थिक वर्षकोको पहिलो चार महिनामा रेमिट्यान्स आम्दानी घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटी रु.३०४ अर्ब ९७ करोड कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति २.५ प्रतिशतले कमी आई रु.३४४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.६ प्रतिशतले बढेको थियो ।