काठमाडौँ: प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन ।
‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको आजको दफावार छलफलमा समितिका सदस्यका वीचमा सहमति जुट्न नसकेको हो ।
सो विषयमा समितिको बैठकमा गत मङ्गलबारदेखि छलफल हुँदै आएको छ । समितिका सदस्यले अन्तरराष्ट्रिय खेलमा सहभागी हुने सबै खेलाडीलाई अन्तराष्ट्रिय खेलाडी मान्नुपर्ने धारणा राखेको थियो । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तरराष्ट्रिय खेलमा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्छ भने ।
बैठकमा सहमति जुट्न नसकेपछि मन्त्रालयले सो विषयमा पुनःलेखन गरेर ल्याउने जनाएको छ । “अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्ने हो भने अहिले साग प्रतियोगितामा सहभागी ६०० खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्दछ । ” उनले भने ।
विश्वकर्माले भने “ओलम्पिकको छाताभित्र रहेका धेरै खेलका सङ्घ र महासङ्घ छन् । तिनले आयोजना गर्ने खेलमा सहभागी खेलाडीलाई पनि अन्तरराष्ट्रिय खेलाडी मान्ने हो भने कहीँकतै अन्तरराष्ट्रिय खेलाडीको परिभाषाले अर्कै अर्थ लाग्न सक्छ ।”
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रही सकेका समितिका सदस्य जीवनराम श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी सबै खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्छ ।
“अहिले हामीले खेलाडीलाई खासै केही गर्न सकेका छैनौँ”, उनले भने, “त्यसैले खेलाडीको मनोबल उच्च राख्न र सम्मानका लागि खेलमा सहभागी सबै खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्दछ ।”
समिति सदस्य गगन थापाले कुनकुन क्षेत्रमा सहभागी खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्ने मापदण्ड बनाउनुपर्ने बताए ।