बुहान(एजेन्सी) : चीनको बुहान शहरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तत्कालका लागि सार्वजनिक यातायात सेवामा प्रतिबन्ध लगाएको छ ।
एक करोड भन्दा बढी बासिन्दा रहेको यो शहरका मानिसलाई घर नछोड्न पनि सुझाव दिइएको छ ।
श्वासप्रश्वासको माध्यमबाट फैलिरहेको यो भाइरसको संक्रमण चीनका अन्य भागमा देखिएको छ भने अमेरिका लगायतका कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको पुष्टि भइसकेको छ ।
भाइरसका कारण ५०० जनामा यसको संक्रमण देखिएको र १७ जनाको मृत्यु भइसकेकाले यसले महामारीको रुप लिने भन्दै विभिन्न मुलुकमा सावधानीका उपाय अपनाउन थालिएको छ ।
थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् ।
जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा त्यहाँबाट फर्किएका मानिस भएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ । पर्यटकका रुपमा अधिकांश चिनियाँ नागरिक भित्र्ने उत्तर कोरियाले भने सबै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
चिनियाँ शहर बुहानमा अनुहारमा लगाउने मास्क किन्नेको लामो लाइन लाग्न थालेको छ । औषधी पसलेहरुले एकजना ग्राहकलाई एउटा मात्रै मास्कको प्याकेट बेच्न थालेका छन् ।
रुघाखोकी र त्यो भन्दा गम्भीर विरामी गराउन सक्ने नयाँ खालको कोरोना भाइरस सन् २००२ देखि २००३ सम्म दर्जनौ राष्ट्रमा फैलिएको ‘सार्स’ प्रकृतिको छ ।
सार्सका कारण त्यसबेला आठ सय जनाको मृत्यु भएको थियो ।