काठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा जोडिएको देश मात्र नभएर मन मिल्ने देश पनि भारतको छिमेकी भएको बताएका छन्।
मोदीले भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीस्थित लालकिलामा शनिबार बिहान देशवासीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
मोदी भन्छन्,‘आज भौगोलिक सिमाना जोडिएको देशमात्र भारतको छिमेकी होइन मन मिल्ने देशपनि भारतको छिमेकी हो।’
‘चाहे जमीनबाट जोडिएका हुन् या समुन्द्रबाट हाम्रा छिमेकी देशसँग हाम्रो आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ’ उनले भने,‘पश्चिम एसियाली देशसँग हाम्रो सम्बन्ध पछिल्लो समय अझ राम्रो बन्दै गएको छ। ती देशमा हाम्रा नागरिकले काम गरिरहेका छन्। कोरोना प्रकोपका बेला सहयोग गर्ने ती देशप्रति पनि आभार प्रकट गर्न चाहन्छु।’
सो क्रममा मोदीले भारतले ३ वटा कोरोनाविरुद्धको खोप बनाउने दाबी गरेका थिए।
साथै प्राकृतिक सम्पदाले भरिपूर्ण भारत आत्मनिर्भर हुनुपर्ने भन्दै मोदीले विश्व अर्थव्यवस्थामा भारतले योगदान बढाउने पनि जिकिर गरेका थिए। एजेन्सी