काठमाडौं : अमेरिकाका लागि प्रस्तावित आवासीय राजदूत डा युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन्।
समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी आज सोमबार खोल्दा उनी विरुद्ध तीन उजुरी परेका हुन्।
यस्तै सोही समितिमा बेलायतका लागि आवासीय राजदूतमा सिफारिस भएका लोकदर्शन रेग्मीविरुद्ध भने एक उजुरी परेको समितिले जानकारी दिएको छ।
उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै समिति सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको बताए। समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो।
सभापति कर्णले प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए।
सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवाशीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र माल्टाका लागि गैरआवाशीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो।
त्यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र बोत्स्वाना, केन्या, कंगो, तान्जानिया, जाम्भिया, जिम्बाबेलगायतका देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ।