काठमाडौँ: भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन्।
भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै नोभेम्बर २६ गते श्रींगला काठमाडौं आउने उल्लेख गरेको छ।
भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमणबाट फर्किएको केही दिनपछि नयाँदिल्लीले राजनीतिक तहको वार्ताका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको हो।
भ्रमणका क्रममा श्रींगलाले समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली भेट गर्ने तय भएको समाचारमा उल्लेख छ।
उनी विभिन्न विषयमा छलफल गर्न काठमाडौं आउन लागेका छन्। उनको भ्रमणका क्रममा दुई देशको सीमासम्बन्धी संयुक्त समितिको बैठकको मिति पनि तय हुने बताइएको छ।
गत वर्ष भारतले नेपालको कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेपछि नेपाल-भारत सम्बन्ध ओह्रालो लाग्न थालेको थियो। पछि नेपालले पनि कालापानी र लिपुलेक क्षेत्र समेट्न संविधान नै संशोधन गरेपछि नयाँदिल्ली क्रुद्ध बनेको थियो। दुई देशको सम्बन्ध चिसिएपछि कूटनीतिक र राजनीतिक तहमा काठमाडौं-नयाँदिल्लीबीच सम्बन्ध विच्छेद जस्तै भएको थियो।
गत कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएपछि दुई देशबीच फेरि कुराकानी सुरू भएको थियो।
गोयल फर्किएको दुई साता नबित्दै भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे काठमाडौं आएका थिए। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवी दिएकी थिइन्।
नेपालस्थित भारतीय राजदूतावासले भारतबाट उच्च अधिकारीको भ्रमण हुन लागेको जनाएको छ।
‘यो भ्रमणका लागि गोयल र नरवणेको भ्रमणले आधार बनाउने काम गरेका थिए। हामीले नयाँदिल्लीबाट उच्च अधिकारीको भ्रमणका लागि तयारी गरिरहेका छौं,’ दूतावासका एक अधिकारीले भने,‘तर ठ्याक्कै मिति टुंगो भएको मलाई जानकारी छैन।’
नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि भ्रमणका कुराकानी भइरहेको भए पनि मिति टुंगो भई नसकेको बताएको छ।