काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले निर्वाचनपछि पक्ष-विपक्ष सकिएको बताएका छन्।
‘मैले पहिला पनि भनेको थिएँ, १३ गते (शनिबार) पछि पक्ष-विपक्ष हुँदैन। हामी सबै एकै ठाउँ हुन्छौं,’ निर्वाचित भएपछि संचारकर्मीसँग ढकालले भने, ‘मेरो अध्यक्ष शेखर गोल्छा नै हो। हामी एक ठाउँमा बसेर निजी क्षेत्रको आवाज उठाउनेछौं।’
ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा समेत राखे। उनले आफूले उठाएको २५ बुँदे कार्यक्रमलाई समेत अगाडि बढाउँदै ती मुद्दा समाधानका लागि सरकारका निकायसँग एडभोकेसी गर्ने पनि बताए।
ढकालले सबै क्षेत्रको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताउँदै सबैको मुद्दालाई साकार बनाउन लाग्ने समेत प्रतिवद्धता जनाए। उनले आफ्ना प्रतिस्पर्धी किशोरकुमार प्रधानलाई समेत समेटेर अगाडि बढ्ने संकेत गरे। ‘मेरो आदरणीय किशोर दाइ र मैले दिउँसो सँगसँगै भोट मागेका थियौं। अब मत परिणाम मेरो पक्षमा आए पनि हामी एकै ठाउँमा रहन्छौं,’ ढकालले भने।
महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान समूह दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए। गोल्छा आइतबारदेखि स्वत: अध्यक्ष भइसकेका छन्।