काठमाडौं : भोली शुक्रबारदेखि सबै यातायात सञ्चालन हुने भएको छ ।
आज बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले जोरविजोर प्रणाली हटाउने निर्णय भएपछि भोलीबाट सबै नम्बरका यातायात सञ्चालन हुने भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने ‘शुक्रबारदेखि जोरविजोर प्रणालि रहँदैन, स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात सञ्चालन हुन पाउँछन्’। यसअघि जोर दिनमा जोर नम्बरका र विजोर दिनमा विजोर नम्बरका यातायात सञ्चालन हुँदै आएका थिए।
तर, यसले आफूहरुलाई मर्का परेको भन्दै यातायात व्यवसायीले उल्लंघन गर्ने घोषणा गरेपछि भएको छलफलले खुल्ला गर्ने निर्णय गरेको हो।
सुरक्षा समिति र यातायात व्यवसायीका प्रतिनिधिबीच भएको छलफलले यस्तो निर्णय गरेको प्रजिअ पराजुलीले बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरविजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए। उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरविजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। जोरविजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ।
