काठमाडौँ:
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको र सो पार्टीको आधिकारिक धार आफूहरु रहेको भनी निर्वाचन आयोग जाने भएका छन्।
त्यसमा बहुमत सदस्य आफूहरुसँग रहेको हुँदा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह सूर्य आफूहरुले पाउनुपर्ने भन्दै त्यसमा आधिकारिताका दावी गर्ने भएका हुन्।
सोमबार आकस्मिक रुपमा बोलाइएको सो पक्षको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा रितपूर्वक आधिकारिकताको दावी गर्ने निर्णय गरेको छ।
सोहिअनुसार पार्टी आधिकारिकताको दाबी गर्न त्यससम्बन्धी जिम्मेवारी लिएका नेकपाका नेताहरु मंगलबार निर्वाचन आयोग जाने भएका छन्।
‘नेकपा विभाजन भएको भन्दै भोली करिब दुईतिहाइ सदस्यहरुको निर्णयसहित आधिकारिकताको दावी गर्न निर्वाचन आयोगमा जाँदैछौ’ नेकपाका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले भने, ‘आज सोमबार बसेको केन्द्रीय कमिटी बैठकले समेत यो विषयमा औपचारिक निर्णय गरिसकेको हुँदा हामी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न आयोग जाँदैछौ।’
पाण्डेले सोमबारको आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि सोहि प्रयोजनका लागि भएको बताए।
प्रचण्ड–नेपाल समूहले पार्टी विवादसम्बन्धी आयोगसँग आवश्यक कामकारवाही काम गर्न पाण्डे सहितका नेताहरुलाई जिम्मेवारी दिएको छ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार कुनै दलमा विभाजन भएर त्यसको दाबी भएमा आयोगले सम्बन्धित पक्षहरुसँग पत्राचार गर्छ।