काठमाडौँ:
कैलाश मानसरोवर मार्गमा पर्ने माल्पा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा महाकाली नदीको बहावमा सामान्य अवरोध सिर्जना भएको छ।
भारतीय पक्षले सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा व्यास गाउँपालिका–१ माल्पा क्षेत्रमा नदीको बहावमा अबरोध आएको हो।
‘भारतले आफ्नो क्षेत्रको सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा नदी बहावमा सामान्य अबरोध छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘नदीको बहावमा धेरै समस्या छैन, भारतले अवरोध हटाइरहेको छ।’
महाकाली नदी बहावमा सामान्य अवरोध आएकाले नदी तटीय क्षेत्रका बस्तीमा जोखिम नरहेको उनी बताउँछन्।
‘महाकाली नदी तटीय क्षेत्रका जनताले डराउनु पर्ने अवस्था छैन्,’ उनले भने, ‘कञ्चनपुर प्रशासनले समन्वय नगरी गलत सूचना प्रवाह गरेको छ, त्यो सूचनालाई आधार मानेर डराउनु पर्ने अवस्था छैन।’
मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना प्रकाशित गरी दार्चुलाको माल्पा भन्ने स्थानमा पहिरो खस्दा महाकाली नदी थुनिएकोले सम्बन्धित क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेको थियो।