काठमाडौँ: खानेपानी मन्त्री मणिचन्द्र थापाले सोमबार मेलम्ची सुरूङमा पानी परीक्षण गर्ने कामको सुरूवात गरेका छन्।
युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजना स्थल पुगेका मन्त्री थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङमा पानी पठाएका हुन्।
दोस्रो पटक आयोजनाको सुरूङमा पानी पठाउने काम सोमबारदेखि सुरू गरिएको छ। यसअघि गत असारमा सुरूङ परीक्षण गर्दा दुर्घटना भएर आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो।
हाललाई अस्थायी बाँध बनाएर सुरूङ मार्गमा पानी पठाउन थालिएको छ। सुरूङमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको छ। सुरूङ २६ किलोमिटरको छ।
सुरूङमा पानी पठाउन सुरू गरेपछि मेलम्ची खोला, अडिट टनेल रहेको स्थान सिन्धु, ग्याल्थुमलगायत क्षेत्रमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले सतर्क रहन आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ।
आयोजना स्थल पुगेका मन्त्री थापाले सुरूङमा आजदेखि १६ गतेसम्म पानी हालिने बताए। सुरूङमा पानी भरिन करिब १६ दिन लाग्ने उनले जानकारी दिए।
‘१६ दिनमा सुरूङमा पानी भरिन्छ,’ आयोजना स्थलमा पत्रकारहरूसँग मन्त्री थापाले भने। उनले सुरूङमा पठाएको पानी सुन्दरीजलमा आउने बताए।