काठमाडौँ: नेकपा–एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली गलत रहेको र उनीसामु आफूले आत्मसमर्पण नगरेको बताएका छन्।
आज शनिबार अध्यक्ष ओलीले बोलाएको पार्टी संसदीय दलमा सहभागी भएका गौतमको आजै राति सो धारणा सार्वजनिक भएको हो।
उनले फागुन २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा राखेको बैठक केन्द्रीय कमिटीको बैठक नभएको बताएका छन्।
‘त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ,’ गौतमले भनेका छन्।
पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको पक्षले फागुन २८ गते ओलीले आफूनिकटका नेताहरुलाई मात्र बोलाएर आफूअनुकूलका निर्णय गरेको हुँदा त्यसलाई स्वीकार नगर्ने बताउँदै आएका छन्।
उनीहरुले पार्टीका बैठकमा सहभागिताका लागि पहिले फागुन २८ गतेका निर्णय बदर गर्नुपर्ने बताउँदै आएका छन्।