काठमाडौँ:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्म आलोचना गरेर पार्टीमा फर्किन वरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाव दिएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने बताए ।
आत्म आलोचना गरेर फर्किने नेतालाई पार्टीमा स्वागत गर्ने उनको भनाइ छ ।
‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्म आलोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं,’ ओलीले भने ।
अब पार्टीमा गुटबन्दी नचल्ने ओलीले दाबी गरे । उनले भने,‘पार्टीले समूहगत रुपमा डिल गर्दैन् ।’
नेपालले अहिलेसम्म गरेका ‘अपराधपूर्ण काम’को आत्म आलोचना गर्नुपर्ने ओलीले बताए । नेता नेपालका गतिविधिहरुलाई आफूले अहिले पनि नियालिरहेको बताउँदै भने, ‘म सीमा हेरिरहेको छु, पार्टीलाई ध्वस्त पार्न खोजे ठीक हुँदैन ।’
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने अडान दोहोर्याए ।
प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिन समेत माओवादी केन्द्रलाई ओलीले चुनौती दिए ।
उनले समर्थन फिर्ता लिन नसकेर राजीनामा माग्ने ‘प्रचण्ड शैली’लाई हरुवाको संज्ञा दिए । ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए । उनले भने , ‘यस्ता धाक धक्कुसँग म डराउदिनँ ।’
ओलीले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप पनि लगाए ।