काठमाडौँ, २५ वैशाख; सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।
पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो । उहाँहरुसमेत हाल उपचारका क्रममा हुनुहुन्छ । पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद २८ पुगेका छन् ।
सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ नतिजा प्राप्त भएको जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निक्र्याेल गरिने छ ।
कोरोना पोजिटिभ भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ । पिपिई लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ ।
कोरोना संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष रुप लिइरहेका बेला हुन लागेको प्रतिनिधिसभाको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।
—
Trending
- राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन
- ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम
- विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
- वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, निर्यातको हिस्सा १३.३१ प्रतिशत मात्र
- औद्योगिक प्रयोजनको विद्युत् महसुलमा भ्याट लाग्ने व्यवस्थामा पुनर्विचार गर्न उद्योग संगठन मोरङको आग्रह
- ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड
- निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्दै प्राधिकरण