नेपाली सेनाले हिमालबाट २८ हजार किलो फोहोर संकलन गरेको छ। ‘सेनाले सफा हिमाल अभियान’ संचालन गरेर हिमालबाट फोहोर संकलन गरेको हो
सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी विभिन्न ६ वटा हिमालहरुको चैत्र ३१ गतेबाट जेठ १५ गतेसम्म सरसफाई गरेको थियो। उक्त अभियानबाट २७ हजार ६७१ किलो फोहोर संकल गरिएको नेपाली सेनाले जनाएको छ।
जसमा कुहिने २ हजार ५०५ केजी र नकुहिने फोहोर २५ हजार १६६ केजी छ। कुहिने फोहोर स्थानीय निकायलाई र नकुहिनी फोहोर रिसाइकलिङ एजेन्सीलाई सेनाले हस्तान्तरण गरेको छ।
उक्त अभियानको दौरान धवलागिरि हिमालको आधार शिविरमा २ वटा र सगरमाथा हिमालको क्याम्प ४ (८,००० मि) मा २ गरी जम्मा ४ वटा शव सेनाले फेला पारेको थियो।
सफाई अभियानमा सहयोग गर्ने सबैलाई उपरथी गोकुल भण्डारीले धन्यवाद दिएका छन्। अभियान अन्तर्गत नेपाली सेनाका ३ जनाले आमदब्लम हिमालको सफल आरोहण गरेका थिए।
सेनाले विश्व वातावरण दिवसका अवसरमा उक्त अभियानमा सहभागी सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ।