काठमाडौँ:
बैतडीमा बँदेललाई थापेको करेन्ट लागेर दाजुभाइकै मृत्यु भएको छ।
सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र उनका भाइ १८ वर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार राति ९ बजे आफ्नै मकै बारीमा जंगली बँदेल मार्न छाडिएको करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
बँदेलले मकै खाएर दुःख दिन थालेपछि उनीहरुले बँदेल मार्नका लागि बारीमा करेन्ट प्रवाह गरेका थिए। असावधानीबस करेन्ट प्रवाह भइरहेको तारमा छुँदा उनीहरुको मृत्यु भएको हो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटाइएको ओझाले जानकारी दिए।
