काठमाडौँ: तराई-मधेस लोकतान्त्रिक पार्टीका पूर्वनेता नेता, हाल स्वतन्त्र सांसद पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ राजनीतिक दल निर्माणमा जुटेका छन्।
नयाँ राजनीतिक दल निर्माणका क्रममा उनी अहिले तराईका जिल्लाको भ्रमण गरिरहेका छन्।
‘नयाँ राजनीतिक दल निर्माणको अन्तिम तयारीमा छु, राष्ट्रव्यापी समेट्ने गरी राजनीतिक दलको निर्माण हुनेछ,’ त्रिपाठीले सेतोपाटीसँग भने।
गठन हुने पार्टीले हालको संविधानको प्रस्तावनालाई मूल आधार मान्ने र त्यसले किसान केन्द्रित वर्गीय राजनीति गर्ने उनले बताए।
अहिले क्रियाशील दलहरू राजनीतिक र सैद्धान्तिक रूपमा विचलननको बाटोमा रहेकाले नयाँ राजनीतिक दल खोल्ने आधार बनेको उनले बताए।
उनको साथमा सांसद वृजेशकुमार गुप्तालगायत छन्। त्रिपाठी र गुप्ता दुबै २०७४ सालको चुनावमा उनी स्वतन्त्र उठेका थिए। तर, एमालेसँग चुनावी तालमेल गर्दा उनीहरूले चुनाव चिन्ह सूर्य पाएका थिए।
त्रिपाठीले नवलपरासी १ र गुप्ताले नवलपरासी २ बाट चुनाव जितेका थिए।
‘मसँग स्वतन्त्र राजनीतिमा विश्वास गर्ने अरू साथीहरू पनि हुनुहुन्छ,’ उनले भने, ‘स्वतन्त्र राजनीतिक समूहमा रहेका साथीहरूलाई समेट्ने छु।’
नयाँ पार्टी निर्माणका लागि उनले दस्तावेज तयार पारिसकेका छन्। अहिले संगठनात्मक संरचना निर्माणका लागि आफू नेपालगञ्जमा रहेको बताए।
‘म नेपालगञ्जसम्म आइपुगेको छु, पूर्व पनि जानु छ,’ उनले भने।
त्रिपाठीले भ्रष्टाचार र आर्थिक अनियमितताविरूद्ध लड्न पनि नयाँ पार्टी गठनको आवश्यकता देखेको बताए।
‘सामाजिक न्याय, विभेदको अन्त्य तथा संघीयताका विषयलाई नै केन्द्रित गरेर राजनीति गर्छौं,’ उनले भने।
पार्टीको नाम चयनको क्रममा पनि आफू लागिरहेको उनले बताए। नयाँ पार्टीका लागि चार-पाँच वटा नाम संकलन भएको उनले बताए
‘दल दर्ता गर्दा कम्तीमा पनि पुरानो नाम नहोस्, नामै फेर्नुपर्ने अवस्था नआओस्,’ उनले भने।