काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन साढे १७ अंक बढेर बन्द भएको नेप्से, यस दिन ४९ अंक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ४९ .१८ अंक घटेर ३०४४.८६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ।
यस दिन २२७ कम्पनीको १ लाख ५९ हजार १३७ पटकको कारोबारमा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
यता रु रु जलविद्युतको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १६६ रुपैयाँ २० पैसा घटेर १ हजार ४९५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, सिंगटी हाइड्रोको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन वित्त उपसमूहको परिसूचक ०.६७ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेलीको ८७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।