काठमाडौँ:
यो पटकको दशैं/तिहार लगायत चाडपर्वमा नेपालीहरूको भान्सा थेग्नै नसक्ने गरी महँगिने भएको छ । अघिल्लो दशैंको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ ।
यस अवधिमा खानेतेल, दाल, चामल, चिनी लगायतका वस्तुको मूल्य बढेको हो । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक सबै उपभोग्य वस्तुको मूल्य उकालो लागेको छ । खानेतेल र वनस्पति घ्यूको मूल्य ९० रुपैयाँसम्म बढेको छ ।
यस्तै, मस्यौराको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म बढेको छ । यो अवधिमा केही वस्तुको मूल्य भने सामान्य घटेको देखिन्छ । मैदा, सुजी, आँटा र जीराको मूल्य घटेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।
गत असोजदेखि यो असोजसम्ममा ताइचीन चिउरा, सबै प्रकारका दाल र चिनीलगायत वस्तुको मूल्य प्रतिकिलो १०÷१० रुपैयाँले बढेको छ । यस्तै, सेतो केराउको मूल्य प्रतिकिलोमा ३० रुपैयाँ तथा राजमा र मेथीको मूल्य प्रतिकिलोमा ४० रुपैयाँ बढेको छ ।
यो अवधिमा बासमती चामल, जौ, बेसार, बेसन पीठो र खुर्सानीको धुलोको मूल्य भने स्थिर रहेको संघले बताएको छ । संघका अध्यक्ष निर्वतमान अध्यक्ष पवित्रा बज्राचार्यले एक वर्षको अवधिमा सबैजसो वस्तुको मूल्य बढेको बताए । उनले भने, ‘धेर÷थोर सबैजसो वस्तुमा मूल्यवृद्धि भएको छ । तर, तुलनात्मक रूपमा कम मूल्यवृद्धि भएको छ ।’