काठमाडौँ: विराटनगर विमानस्थल बन्द भएपछि भद्रपुरमा उडान थप गरिएको छ।
अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थलले भोलि साँझ ५ बजेसम्म नोटाम जारी गरेको हो।
योसँगै यति एयरलाइन्स र बुद्ध एयरले भद्रपुरमा थप उडान गरेका हुन्।
बुद्ध एयरले भद्रपुरमा दैनिक ५ उडान गर्दै आएकोमा अब ७ उडान गर्ने भएको हो। यति एयरलाइन्सले पनि भद्रपुरमा थप २ उडान गरिएको जनाएको छ।
‘विराटनगर नजिकैको भद्रपुर विमानस्थलमा उडान थप गरेका छौं,’ यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने ‘पानी कम भए भोलिबाट मात्रै विराटनगर विमानस्थल सञ्चालन होला।’
अत्यधिक वर्षाले विराटनगर विमानस्थलको रनवेमा पानी भरिएको छ। रनवेको पानी नसुकेसम्म उडान तथा अवतरण गर्न सकिँदैन।