जनकपुरधाम: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताए ।
शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, ‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।’
असार २८ गते सर्वोच्चको परमादेश पछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए । तर संवैधानिक परिषदमा भने सेटिङ भएका भन्दै त्यसको खोजी नीति हुनैपर्ने उनको भनाइ थियो ।
उनले मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने बताए । ‘काँग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाऊ र लोकतन्त्रको वारेस काँग्रेसलाई कसरी बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्ने छ । यो मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्छ भन्ने मैले अनुभूति गरेको छु,’ उनले भने ।
यस्तै वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने पौडेलले बताए । उनले भने, संविधान बनाउँदा केही कुरा छुटेको छ । त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार भएको हो । तर एमालेले मानेन ।