काठमाडौँ: अभिनेता तथा लेखक खगेन्द्र लामिछाने जोडिएका हरेक एक फिल्म दर्शकका लागि व्यग्र प्रतिक्षामा रहन्छ । यस्तै, निर्माण घोषणाको समयदेखि नै फिल्मको कथावस्तुका कारण चर्चामा रहेको उनी अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ ।
यसमा उनले एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । प्रायः पर्दामा दुखी व्यक्तिको भूमिका निर्वाहा गर्दै आइरहेका उनलाई यसमा भने कहिले अभिनेत्री मेनुका प्रधानसँग रोमान्टिक मूडमा त कहिले डण्डीबियो खेलाडीको अवतारमा देख्न सकिन्छ । यस फिल्मको कथा खगेन्द्र आफैंले तयार पारेका हुन् ।
छेतेन गुरुङको यो पहिलो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’ जस्ता फिल्मको कथा र संवाद लेखिसकेका छन् । लभस्टोरी स्क्रिप्ट राईटरको स्पोट जनरामा निर्मित तथा पहिलो निर्देशकीय फिल्म कस्तो होला भन्ने सबैको चासो थियो ।
यसमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारहरुको लिड रोल छ । घले गाउँ र काठमाडौंमा खिचिएको यस फिल्मले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ ।
१. फिल्मको नाम सुन्ने वितिक्कै तपाईहरुलाई सानोमा डण्डी र बियो लिएर साथीभाईसँग गाउँघरका करेसा-करेसामा डण्डीबियो खेलिएको त्यो दिन याद आउँछ । यस फिल्मले त्यो याद पुनः ताजा गराउँछ ।
तपाईले सानोमा विना नियम डण्डीबियो खेल्नुभएको थियो । तर, यस फिल्मले डण्डीबियोको पूरा नियम सिकाउँदै तपाईलाई फिल्मी स्वाद पस्कन्छ । नेपालबाट लोप हुँदै गएको डण्डीबियो खेललाई नियम सिकाएर फिल्म हेरेको महशुस गराउन सक्नु यसको सबैभन्दा ठूलो उपलब्धि हो ।
२. फिल्मका मेरुदण्ड हुन् खगेन्द्र लामिछाने । आफैंले कथा तयार पारेका कारण उनले आफूलाई बलियो बनाउन चुकेका छैनन् । फिल्म उनकै वरिपरि घुम्छ । हरेक फिल्मबाट अभिनयको तारिफ आफ्नो पोल्टामा पार्दै आइरहेका उनले यस फिल्मबाट पनि राम्रै वाहवाही पाउनेमा दुईमत छैन ।
३. खगेन्द्र र अभिनेत्री मेनुका प्रधानको प्रेमलाई निकै रमाइलो तरिकाले बुनिएको छ । यी दुईको प्रेमले तपाईलाई हलमा बाँधेर राख्न ठूलै सहयोग गर्छ । ‘मलाई माया गर्छेस् भने मेरो सपनालाई पनि माया गर नत्र तेरो र मेरो ठ्याङ पर्यो ब्रेकअप’ जस्ता केही संवादहरु निकै रमाइला छन् ।
डमरु (खगेन्द्र) प्लस माला (मेनुका) कुदिएको एउटा ढंगाले पनि फिल्ममा ठूलो अर्थ बोकेको छ । यी दुईको प्रेममा आउने उचारचढावले दर्शकमा कौतुहलता सृजना गर्न सफल छ ।
४. फिल्ममा अभिनय रहेका हरेक एक कलाकारले आफ्नो भूमिकालाई न्याय दिन कुनै कसर बाँकी राखेका छैनन् । तपाईले फिल्म हेर्ने एक कारण कलाकारको अभिनय पनि हुनसक्छ ।
खगेन्द्रको पीताको भूमिकामा देखिएका अभिनेता अनुप बरालको अभिनय दमदार छ । कलाकार बुद्धि तामाङको हाउभाउ हाँसोको खुराक बनेको छ ।
५. निर्देशक छेतेन गुरुङको यो पहिलो निर्देशकीय फिल्म लाग्दैन । स्पोट जनराको फिल्ममा दर्शकलाई रोमान्चक बनाइराख्नु सबैभन्दा ठूलो चुनौती हो । यसमा उनको मिहिनेत देखिन्छ ।
उनको गल्ती नै छैन भन्न मिल्दैन तर पहिलो निर्देशकीय फिल्म भएका कारण उनलाई छुट दिने ठाउँ छ ।
डण्डीबियो सिकाउँदै गरेको दृश्यको लेन्थे लामो छ । यसमा केही कन्ट्रोल गर्न सकिन्थ्यो । दर्शकलाई एकैपटकमा डण्डीबियोको सबै नियम बुझाउन खोज्दा केही गन्जागोल देखिन्छ । यसमा भने निर्देशक छेतेनले मिहिनेत गर्न कञ्जुस गरेका छन् ।