काठमाडौँ: सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको न्यूनतम खरिद मूल्य निर्धारण गरेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको जानकारी दिए ।
गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रतिक्विन्टल बनाएको थियो ।
अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।
सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
कृषि मन्त्रालयका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । उनकाअनुसार ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले दिएको अनुदान हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार आव २०७७/७८ मा नेपालमा ३१ लाख ६० हजार मेट्रिकटन उखु उत्पादन भएको थियो ।
उद्योग विभागले गरेको एक अध्ययनको अनुसार नेपालमा प्रतिव्यक्ती प्रतिवर्ष ४ देखी ६ के जी चिनी खपत हुने अनुमान गरिएको छ।
सो खपतको आधारमा नेपालमा चिनीको सरदर वार्षिक माग २ लाख ३० हजार मेट्रीक टन रहेको छ जसमध्ये ६५ प्रतिशत घरायसी प्रायोजनको लागि र ३५ प्रतिशत औद्योगिक प्रायोजनको लागि उपयोग हुने अनुमान गरिएको छ।
हाल संचालनमा रहेका उद्योगहरुको वार्षिक चिनी उत्पादन क्षमता ४६३९५० मे.ट. रहेतापनि अधिकाशं उद्योगहरु पुर्ण क्षमतामा संचालन भएका छैनन।
केन्द्रीय तथ्यांक विभागले गरेको बार्षिक घरधुरी सर्वेक्षण प्रतिवेदन २०७२/७३ अनुसार नेपालमा सरदर प्रतिव्यक्ति चिनीको उपभोग ८.० केजी रहेको देखिन्छ।
नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा चिनीको बार्षिक माग करीब २ लाख ५० हजार मे.टन रहेको जसमध्ये नेपालको आन्तरीक उत्पादनले उपभोक्ताको करीब ७१ प्रतिशत माग धान्न सक्ने अवस्था रहेको छ ।
