भक्तपुर, ९ साउन :
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।
त्यसक्रममा, नेकपा एमालेका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् ।
सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गरे ।
अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्यो उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ?’
उता ओलीले कम्बोडिया अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । साथै श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका एमाले सचिवालयले जानकारी दिएको छ । साथै उनले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षणसमेत गरेका थिए ।
