काठमाडौँ । १५ औँ संस्करणको वृहत् नाडा अटो शो मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ । ‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शो को कुम्भ मेलामा दर्जन बढी नयाँ सवारी साधन प्रदर्शनको तयारी छ ।
उसो त झण्डै ४ वर्षपछि आयोजना हुँदै गरेको नाडा अटो शोमा साना ठूला गरी १२० स्टल रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछन् ।
जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म जम्मा ६ दिन चल्ने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने र २० अर्ब रुपैयाँ बढीको व्यापार हुने नाडाको भनाइ छ । भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुने अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ ।
दुई पाङ्ग्रे सवारीका लागि भृकुटीमण्डपमा नै व्यवस्था गरिएको छ भने चार पाङ्ग्रे सवारीका लागि प्रदर्शनीमार्ग बाहिरको तीन वटा स्थानमा व्यवस्था गरिएको र निःशुल्क सटल बसको व्यवस्था गरिएको अटो शोका संयोजक अनुप बरालले जानकारी दिए ।