काठमाडौँ:
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुनसक्ने बताएका छन्।
बुधवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र नियमनकारी निकायहरुले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधान उन्मुख हुने बताएका हुन्। उनले पछिल्लो समय सरकार नियमकारी निकायहरुले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्था गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताए।
उनले भने,‘निजी क्षेत्रका तीन वटा संस्थाहरुले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटा भ्वाइसमा सुझावहरु दियौं। त्यो सुझावहरु कार्यान्वयन हुन सकेन। निजी क्षेत्रको समस्याका विषयमा सरकार र नियमनकारी निकायहरुले बेवास्था गर्दा अर्थतन्त्रमा असजिलो आएको छ।’
अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गरे। उनले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राखे।
उनले निजी क्षेत्रका तीन वटा संस्थाहरुले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझावहरु दिँदा समेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारत्मक नहुनु भएको बताए।
उनले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएको बताए। उनले रेमिट्यान्स,पर्यटन आगमन र बैंकिङ तरलतामा सहजता आएको बताए। उनले अर्थतन्त्रका आयामहरुमा सकारात्मक संकेत देखिएको भन्दै सरकारले सबैको मनोबल उच्च बनाउने गरी नीतिहरु ल्याउन आवश्यक रहेको बताए।